कविता : रगतको पैदल यात्रा
कविता ३ मिनेट पढ्न समय

कविता : रगतको पैदल यात्रा

…र त्यसरी अन्त्य हुनेछ
तिम्रो अपभ्रंशको साम्राज्य !

जंघार, खोला, भिर, पहाड, गल्छेडा
वा एकदमै डरलाग्दो जङ्गल –

जहाँबाट फुटाएका थियौ रतगको मुल
र पुग्नुपर्ने बाटोको ठेगाना मेटाईदिएर
घुसेका थियौ तिमीहरू खुसुक्क सुरक्षित बस्तीतिर

लुक्दै लुक्दै खडेरीमा जमिनमुनि
बच्दै बच्दै बर्षाको भलहरूबाट
सुस्तिदै सुस्तिदै ढुंगाको छातीमा

बर्षौ बर्षको पैदल यात्रा गरेर रगतहरू
अब आईपुग्नै लागेका छन् तिम्रो सुरक्षित बस्तीतिर

तिमीले त सोचे हौला खाइसक्यो
कुनै मांशाहारी जनावरले नामुनिसान नदेखिनेगरि
कमिला, झिंगाहरूको आक्रमणमा परेर भैसक्यो होला माटो
वा पखालीसक्यो वर्षातको पानीले

तर आदिम हावाको चुस्की लिंदै बाँचेको
आदिवासी प्राण, तिम्रो सर्वसुलभ आँकलनले
कहाँ सकिन्थ्यो र, कहाँ मर्थ्यो र

तताएर सडक आफ्नै पैतालाको चापले
मुर्झाएर धुलो, अस्तित्वको गीतले
मिसिदै हावाहरूको मोर्चामा
तिम्रो स्वैर कल्पनामा रम्ने अहंकारको पुल तर्दै

बर्षौ बर्षको पैदल यात्रा गरेर रगतहरू
अब आईपुग्नै लागेका छन् तिम्रो सुरक्षित बस्तीतिर

सक्छौ भने फरार हौ आफ्नो निरङ्कुशताबाट
र पश्चातापको सास फेर्दै आउ हामीसँगै मिसिन

हैन !
तिमी आफ्नो नश्नको जिउरो छोड्दैनौ भने
आत्महत्या गर र बिनाकुनै कसुर पलायन हौ कतै
नत्र फेरि अर्को फौदारी रगतले खुट्टा उमार्न सक्छ ।

 – युग सर्वनाम