तिहारको रङ : सप्तरङ्गीको सौन्दर्य
धार्मिक / भक्ति साहित्य ३ मिनेट पढ्न समय

तिहारको रङ : सप्तरङ्गीको सौन्दर्य

ईबड्डा डट कम

तिहारको रङ सप्तरङ्गीको सौन्दर्यमा खुलेको हुन्छ । यो भौतिक सजावटमा सीमित छैन । यो प्रकृति, सम्बन्ध र सांस्कृतिक एवम् आध्यात्मिकता मिश्रित विविध रङहरूको सङ्गम हो । यी रङहरूले भन्छन् हाम्रो जीवनको आधारशिला पनि यस्तै सामान्य वस्तुहरूबाट बनेको छ, जसलाई सुन्दरता दिन हामी आफैँले मेहनत गर्नुपर्छ ।

तिहारको सबैभन्दा महत्त्वपूर्ण भावनात्मक रङ सप्तरङ्गी टीकामा निहित छ । दिदीबहिनीले दाजुभाइको निधारमा लगाइदिने यो टीका केवल सात रङको मिश्रण होइन, यो त दीर्घायु, आरोग्य र सफलताको गहिरो कामनाले भरिएको प्रेमको प्रतीज्ञापत्र जस्तै हो । यो रङले रगतको सम्बन्धभन्दा माथि उठेर भावनात्मक सुरक्षा र स्नेहको एउटा अदृश्य घेरा निर्माण गरिदिन्छ । यसका साथै सयपत्री, गोदावरी र मखमली फूलहरूको रङले सम्बन्धको अमरता र पवित्रताको सन्देश दिन्छ ।

तिहारमा उत्सवको उमङ्ग हुन्छ र त्यहाँ चेतनाको सङ्गीत गुन्जिन्छ । जुन तिहारको धड्कन हो । काग, कुकुर, गाई, गोवर्धन र अन्तमा दाजुभाइ, दिदीबहिनीको पूजा गर्ने यो क्रमले सम्पूर्ण सृष्टिप्रति आभार प्रकट गर्ने हाम्रो महान् संस्कृतिलाई प्रतिबिम्बित गर्छ । यो उमङ्ग हाटबजारको भीड वा नयाँ लुगा, नयाँ पैसामा मात्र सीमित छैन, यो त प्राणी–जगतप्रति गरिने सम्मानमा पनि अभिव्यक्त छ ।

छरछिमेकी, आफन्तका घर आँगनमा पुगेर भट्याइने देउसी–भैलोको लय नेपाली जनजीवनको परम्परागत धुन हो । यस उत्सवको यो उमङ्गमय सामूहिक अभिव्यक्ति पनि हो । यो मनोरञ्जन होइन, यो त समुदायलाई एकसाथ जोड्ने, खुसी बाँड्ने र सांस्कृतिक विरासतलाई पुस्तान्तरण गर्ने एउटा मीठो प्रयाससमेत हो । लोकलय, लोकभाका र लोकजीवनका मीठा गीत र नाचमा हाम्रो जीवनको सम्पूर्ण ऊर्जा सङ्गृहीत भएको हुन्छ ।