बज्जिका भाषा र मिडिया : एक ऐतिहासिक दस्तावेज
पत्रकार गिरिजा अधिकारी र सञ्जय साहद्वारा लिखित ‘बज्जिका भाषा र मिडिया’ पत्रकारितामा चर्चामा रहेको पुस्तक हो। साहित्य सङ्गमद्वारा २०७९ मा प्रकाशित भएको यो पुस्तक बज्जिका भाषाको विकासक्रम र त्यसमा मिडियाले पारेको प्रभावको विषयमा केन्द्रित छ।
अनुसन्धान विधि प्रयोग गरी लेखिएको बज्जिका भाषा र मिडियामा बज्जिका भाषाको परिचय, भाषाको उत्पति, नामाकरण, विकास प्रकृया, प्रयोग क्षेत्र, वर्तमान अवस्था, वक्ता वितरण, ब्याकरण, शब्दकोष, साहित्य सिर्जना र कृति, अनुवाद र अनुसन्धान, बज्जिका भाषा विस्तारमा सञ्चार माध्यमको योगदान, यसको उत्थानमा साहित्यिक लेखन, बज्जिका भाषाको विस्तारमा योगदान पुर्याउने व्यक्ति, व्यक्तित्व र संघसंस्थाहरू, यसका चुनौती र संभावनाहरू र निश्कर्षलगायतका विषयवस्तुहरू समेटिएका छन्। मिडिया अनुसन्धान सम्बन्धी पुस्तकका लेखकहरूले यसको माध्यमबाट बज्जिका भाषाको विस्तारमा मिडियाले निर्वाह गरेको भूमिका र योगदान पहित्याउने प्रयत्न गरेका छन्।
त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. दानराज रेग्मीले आधुनिक अनुसन्धानका दायराभित्र तयार पारिएको यो कृति पठनीय, संग्रहनीय र अनुकरणीय रहेको उल्लेख गरेका छन्। यसबाट पनि यस पुस्तकको नेपालमा पार्ने प्रभाव विशिष्ठ रहेको स्पष्ट पारेको छ।