सम्भव सात कविता ।
युगका स्वरहरू
–उत्तम तुम्सा लिम्बु

चुल्ठोमा सिउरेर चमेली
गुराँस आफ्नै मात्र नभन्नु
देश नभएर पनि
खुशी छन् बादलका लस्करहरू
देश नभएर पनि
स्वतन्त्र छन् चराका हुलहरू
देश नभएर पनि
हाँसेका छन् फूल नभनिएका फूलहरू
एउटै रुखले सत्य थाम्ने भए
किन उम्रनु हजार वृक्षहरू ?
एउटै साँझले जुनी बित्ने भए
किन उदाउनु लाख दिनहरू ?
साथी !
सुकेको हाँगा टेकेर
कसरी माथि चढ्नु ?
जमिनमा टाउको जोतेर
कसरी आकाश हेर्नु ?
सम्झिनुहोस्
अन्त्य हुँदैछ छेपाराको शताब्दी
जो, अँध्यारोमा
घर बनाउने सपना देख्छ
र, उज्यालोमा बिर्सन्छ ।
रात ओभाएपछि
तारा थन्काइराख्नु पर्दैन
जस्तै कि,
झरिरहेछ हाँगाबाट
डेटएक्स्पायर पतिंगर
रुखलाइ यो थाहा छ
शीतल बाँड्न
नयाँ पातहरु चाहिन्छ ।
मनमा घाम राख्नुपर्छ
संसार उज्यालो देखिन्छ
जब, भुँइको धुलो माटो हुनेछ
जब, पुतली फुल हुनेछ
सायद साबित हुनेछ
ढुङ्गा सिर्फ ढुङ्गा मात्र होइन
ईश्वर पनि हो ।
चाल्नुहोस् केहीँ कदमहरू
सिक्नुहोस् केहीँ आयामहरू
जस्तै कि हेर्नुहोस्
कमिलाको एकता
कसरी उचाल्दै छ झुसिल्किरा ?
हेर्नुहोस् गौँथलीको मेहनत
कसरी बनाउँदैछ घर ?
हेर्नुहोस् चराको निरन्तरता
कसरी सिन्का सिन्का जोडेर
मजबुत पार्दैछ गुँड ?
साथी !
आफ्नै नङग्रा जोतेर
आफ्नै घरबारीको बाँझो फोर्नु
फुटाएर आफ्नै पसिनाले
अहमका डल्लाहरू
अलिकति उमार्नु
आफ्नै करेसामा रायोको साग
बश !
देश बनाउनु पर्दैन
देश आफैँ बन्नेछ ।
………..
हाइबर्नेसनबाट ब्युँझिएर
–बलिन्द्र योङ्हाङ चोङ

‘ए ! बाघ, म आऊँ ?’
बाघ र स्यालको यो कथा धेरैले पढ्नु भएको होला ।
नभए सुन्नु भएको होला
बाघ ‘मूर्ख’ ,स्याल ‘चलाख’ हुन्छ…
यस्तै सोच्दै हुनुहुन्छ भने तपाईँ गलत हुनुहुन्छ ।
च्याप्टर–१
उहिले उहिले सुनेको एउटा कथा छ ।
अनकन्टार जङ्गलमा एउटा गुफा हुन्छ
गुफाभित्र एउटा स्याल बस्छ
हरेक साँझ सिकार खोज्न निस्कन्छ
बिहान झिसमिसेमा फर्कन्छ
जिन्दगी यसरी नै चलाउँछ
तर, समय एकनासले चल्दैन
एक समय यस्तो आउँछ–
जङ्गलको हराभरा खडेरीले खिङ्ग्रिङ्गै
स्यालको जीउ सुकेरै जिङ्ग्रिङ्गै
ए ! भनेलाई देखी
त्यहाँ देखि के हुन्छ भने –
एकदिन
हिउँद छल्न हिँडेको वसन्त फर्केर आउँछ
ससुराली सम्झेर वर्षात पाहुना लाग्छ
रेड सिग्नलमा जिन्दगी च्याँखे थाप्दै आइपुग्छन् –
जेब्राक्रसमा एक हुल जेब्राहरू
वसन्तको काखैमा छ, एकजोडी कागको गुँड
छेउवैको हाँगामा टेकेर कराउँदैछ कोइली – ‘को हो ?’
च्याप्टर–२
बुझेर ल्याउँदा के र’छ भने
स्यालको क्षेत्र हुँदैन
बाघको आफ्नै क्षेत्र हुन्छ
बाघ आफ्नो क्षेत्रको काम्ब्राङ गर्छ
स्याल सिनोको पछि हुन्छ
बाघ हाइबर्नेसनबाट ब्युँझन्छ
आफूलाई झाडीमा पाउँछ ।
थाहा पाउनु भयो नि ?
माथि च्याप्टर – १ मा छोडिएको गुफा
खासमा बाघको हो ।
……….
जुत्ता
–मिथोच

सडकमा जुत्ता नहुने
हजारौ खुट्टाहरूको लागि
रगतले लत्पतिएको
एउटा जुत्ता चढायौं
एउटाले जुत्ताले
टेक्न सक्दो रहेछ तानाशाहको टाउको
ढाल्न सक्दो रहेछ क्रुर सत्ता
फेर्न सक्दो रहेछ सन्की शासक
ल्याउन सक्दो रहेछ
परिवर्तनको बिहान
लगाउन सक्दो रहेछ
सडकको जंगलमा विद्रोह आगो ।
एउटा जुत्ता विद्रोहमा
सबै भन्दा ठुलो शक्ति हुँदोरहेछ ।
इतिहासमा लेखिने छ
यो, जुत्ताको अर्को नयाँ इतिहास
यो जुत्ता
तानाशाहको खुट्टाबाट जोगाउनुछ
सुरक्षित राख्नु छ
बाँकी यात्राको लागि ।
……………………..
रगतको पैदल यात्रा
–युग सर्वनाम

…र त्यसरी अन्त्य हुनेछ
तिम्रो अपभ्रंशको साम्राज्य !
जंघार, खोला, भिर, पहाड, गल्छेडा
वा एकदमै डरलाग्दो जङ्गल –
जहाँबाट फुटाएका थियौ रतगको मुल
र पुग्नुपर्ने बाटोको ठेगाना मेटाईदिएर
घुसेका थियौ तिमीहरू खुसुक्क सुरक्षित बस्तीतिर ।
लुक्दै लुक्दै खडेरीमा जमिनमुनि
बच्दै बच्दै बर्षाको भलहरूबाट
सुस्तिदै सुस्तिदै ढुंगाको छातीमा
बर्षौ बर्षको पैदल यात्रा गरेर रगतहरू
अब, आईपुग्नै लागेका छन् तिम्रो सुरक्षित बस्तीतिर
तिमीले त सोचे हौला
खाइसक्यो
कुनै मांशाहारी जनावरले नामुनिसान नदेखिनेगरि
कमिला, झिंगाहरूको आक्रमणमा परेर भैसक्यो होला माटो
वा, पखालीसक्यो वर्षातको पानीले
तर, आदिम हावाको चुस्की लिंदै बाँचेको
आदिवासी प्राण, तिम्रो सर्वसुलभ आँकलनले
कहाँ सकिन्थ्यो र, कहाँ मथ्र्यो र ?
तताएर सडक आफ्नै पैतालाको चापले
मुर्झाएर धुलो अस्तित्वको गीतले
मिसिदै हावाहरूको मोर्चामा
तिम्रो स्वैर कल्पनामा रम्ने अहंकारको पुल तर्दै
बर्षौ बर्षको पैदल यात्रा गरेर रगतहरू
अब, आईपुग्नै लागेका छन् तिम्रो सुरक्षित बस्तीतिर ।
सक्छौ भने फरार हौ आफ्नो निरङ्कुशताबाट
र, पश्चातापको सास फेर्दै आउ हामीसँगै मिसिन
हैन !
तिमी आफ्नो नश्लको जिउरो छोड्दैनौ भने
आत्महत्या गर र बिनाकुनै कसुर पलायन हौ कतै
नत्र फेरि अर्को फौदारी रगतले खुट्टा उमार्न सक्छ ।
…………..
छापामारको सन्देश
–राज एकान्त

हाम्रो मिलनको अन्तिम रात
तिमीसँगै छुटेछ
हँसिया र हथौडा अङ्कित रातो रुमाल
जो म तिमीलाई
वर्षौं पहिले उपहारमा दिन चाहन्थें ।
अबको ठीक नौ महीनामा
जन्मिनेछ छोरा
न्वारानको दिन उसको निधारमा
त्यै रुमाल बाँधिदिनू
सुँघाइदिनू बारूदको गन्ध
र, विस्फोट नाम राखिदिनू उसको ।
कुनै विश्वविद्यालयको जरुरत छैन
उसलाई किसानहरू चिनाइदिनू
र, चिनाइदिनू–
हलोले जमीनमा लेख्ने अक्षरहरू
उसलाई मजदूरहरू चिनाइदिनू
र, पढ्न लगाउनू
पसिनाले भिजेका श्रमका एकेक पानाहरू ।
उसलाई शासकहरू चिनाइदिनू
सुनाइदिनू महल र झुपडीबीचको विभेद कथा ।
उसलाई दलालहरू चिनाइदिनू
चिनाइदिनू श्रमशोसक ठेकेदारहरू पनि
ताकि उसले प्रश्न गरोस्
कसको पसिनाले बाँचिरहेछन् यिनीहरू
उत्तरआधुनिक जीवनशैली ?
सामन्ती जुँगा मुसारेर
गाउँमा के के गरिहिंड्छ मुखिया ?
एकथरी आमाहरू
किन हेपिन्छन् एकाबिहानै पँधेरीमा ?
यति भयग्रस्त किन बाँची रहेछ यो समाज ?
उसलाई सवालहरू चिनाइदिनू ।
निश्चिन्त रहनु
१६ वर्ष पुग्नुअगावै
उसले बुझिसकेको हुनेछ
कि, न्वारानको दिन
निधारमा बाँधिदिएर रातो रुमाल
किन उसको नाम विस्फोट राखियो ?
………..
सडक बहादुर
–सन्जित फलाना

कहीँ पुगेको छैन म
सडकभन्दा टाढा
जब कि हिँड्नै चाहेको भए
पुग्थेँ म शितकनिवास
बालुवाटार,
संसद् भवन
जब थिएँ
फूलजस्तै कोमल
हावाजस्तै हलुङ्गो
हिमालजस्तै शान्त
बोकाएर पार्टीको पुरानो झण्डा
घोषणापत्र, सिद्धान्त, नारा र पर्चा
हिँडायौ यहीँ सडकम
निकालेर अन्धो जुलुस
सामेल गरायौ प्रदर्शनमा
सुनाएर छद्म भाषण
तैनाथ गरायौ कोणसभामा
तिम्रो बिचार भरिएर
अब त यति पाखण्ड भइसकेछु
कि औँठाछाप मेटिएको
यी निकम्मा हातमात्रै सुरक्षित छ मसङ्ग
तिमी कहिले दरबारबाट निस्कन्छौ सरकार
मलाइ अन्तिमपटक सडकमा निस्किएर
तिमिलाइ ढुङ्गा हान्न मन लागेको छ।
…………………….
अक्षरहरू
–सुरज राना

कागजको छातीमा बाटो बनाएर
अक्षरहरूले महायात्रा गरेपछि मात्रै
कागज बाइबल बन्यो
कागज कुरान बन्यो
कागज त्रिपिटक बन्यो
बने– गीता, पुराण, महाभारत
आज यिनै कागजहरूको थुप्रोलाई ढोगेपछि
मान्छे इसाइ बन्छ
मान्छे इस्लाम बन्छ
मान्छे बौद्ध बन्छ
मान्छे हिन्दू बन्छ
र मान्छे भुल्दछ मान्छे बन्न ।
चिहानघरका
चौताराका
देउरालीका
दोबाटोका ढुङ्गाहरूमाथि
अक्षरहरूले पलेँटी मारेर बसेपछि
मुर्दाका सम्झनाहरूले सास फेर्न थाल्दछन् ।
प्रकाशभन्दा उज्यालो
र, अस्तित्वभन्दा सत्य केही हुन सक्छ भने
यहाँँ फुल भन्दा नाजुक
र, बारmदभन्दा भयानक केही हुन सक्छ भने
ती, केवल अक्षरहरू हुन सक्छन् ।
अक्षरहरूको ढाडमा पदचाप नराखी
आफै हिँड्न सक्दैन समय आफ्नै सापेक्षतामा
अक्षरहरूको लहरामा नउनिए
चुँडिन्छ सास विचारको
एउटा युग र अक्षरको सम्भोगबाट
जन्मिएका नयाँ दर्शनहरूलाई
मृत्युदण्डको फैसला सुनाइदिन्छ अर्को युगले
अक्षरहरूकै खुल्ला इजलासबाट
नसम्झनू सामान्य
अक्षरहरूकै राँको बालेर
जब कविता निस्किन्छ जुलुसमा ।
…………………….