शब्दहरुमा हृदय भर्नु नै कविता होला जस्तो लाग्छ : दर्शन घिमिरे ।
दर्शन घिमिरे इलाममा बसेर कविता लेखनमा सकृय कवि हुन् । भर्खरै श्रष्टा पब्लिकेशन झापाबाट उनको हृदयको उल्टो यात्रा शिर्षकको कवितासङ्ग्रह प्रकाशनमा आएको छ । यहिँ सेरोफेरोमा उनिसङ्ग ई बड्डाका सम्पादक सन्जित फलानाले कुराकानी गरेका छन् । प्रस्ततु छ उक्त कुराकानीको सम्पादित अंश :
पहिले त तपाइँलाइ पहिलो कवितासङ्ग्रह हृदयको उल्टो यात्रा को लागि बधाइ । यो सङ्ग्रह ल्याउँदैगर्दा तपाइँले कस्ता चुनौतिहरु खेप्नुभो ?
– धन्यवाद !
त्यस्तो असहज र अफ्ट्यारो त केही भएन । धेरै प्रकाशन गृहहरु धाउनु नि परेन । तर मेरो कवितासङ्ग्रह पाठकहरुले कतिको स्विकार्ला भन्ने डर चैँ पक्कै छ ।
हृदयको उल्टो यात्रा नाम आफैमा सुन्दर र अब्स्ट्राक्ट छ । खासमा यो शिर्षकसङ्ग यसभित्रका कविताहरुले कस्तो यात्रा गर्छ ?
– सम्झनामा बाच्नु नै मलाई हृदयले गर्ने उल्टो यात्रा हो जस्तो लाग्छ । यो सङ्ग्रहभित्रका कविताहरुले सम्झना र यादहरुकै कुरा गरेका छन् । मैले हृदयको उल्टो यात्रालाई जतिसक्दो सुल्टोगरी बगाउने कोसिस गरेको छु ।
भनिन्छ हरेक कविहरुको कविताप्रतिको दृष्टिकोण नितान्त फरक र वैयक्तिक हुन्छ । तपाइँको लागि कविता के हो र किन लेख्नुहुन्छ ?
– कविता यो हो भनेर ठ्याक्कै त भन्न सकिन्न होलासम्म चैँ भन्न सकिएला । शब्दहरुमा हृदय भर्नु नै कविता होला जस्तो लाग्छ । कमसेकम मेरै लागी चैँ त्यहीँ हो लाग्छ । कविता परिवर्तनको लागि नै लेखिन्छ । देश, समाज, मान्छेको मन मात्रै भएपनि परिवर्तन गर्न लेखिन्छ, जस्तो लाग्छ ।
भर्खरै भएको जेन्जी आन्दोलनले देशमा ठूलो परिवर्तन ल्यायो भनिन्छ । हरेक परिवर्तनको लागी नयाँ चेतना र विचारले क्याटालिस्टको भुमिका खेल्छ । तपाईं एउटा जेन्जी पुस्ताको कवि भएकोले कवितामार्फत कसरी चेतना निर्माणको काम गर्न सकिन्छ जस्तो लाग्छ ?
– कवि भइसकेपछी हामीले लेखेरै आफ्नो कविता मार्फत परिवर्तनको आवाज उठाउने हो । देशमा भइरहेका खराब कर्तुतहरु केलाउने, हेर्ने र तिनीहरुको विरुद्धमा लेख्ने हो । युवा पुस्तालाई सिर्जनशिल बनाउन र राम्रो कार्यको लागि प्रेरित गर्नपनि कवितामार्फत नै प्रयास गर्ने हो । मुख्य कुरा जेन्जी पुस्ताले पढ्नु चैँ पर्यो ।
कविताको अलावा तपाइँ चेतना थिएटरमा आवद्ध रहेर नाटक नि गर्नुहुन्छ । कविता लेख्न गाह्रो कि अभिनय गर्न ?
– सजिलो त दुइथोक नै छैन । तर आफुले इन्ज्योय गर्यो भने अफ्ट्यारोमै रमाइलो हुन्छ ।
मलाई कविता लेख्न नै अलि रमाइलो लाग्छ ।
तपाइँलाइ कस्ता कविताहरु बढी मन पर्छन् ?
– मलाई अलिकती बढी प्रेम कविताहरु मनपर्छ । वैचारिक कविताहरु पनि मनपर्छ तर अलि बढी भावनात्मक शैलीलाई महत्व दिएर लेखेको हुनुपर्छ ।
यहीँ कारण भन्ने त छैन ।
जहाँसम्म कविताले कुनै निश्चित वाद र सिद्धान्तहरु बोक्ने प्रवित्ति देखिन्छ । कुनै वाद र सिद्धान्तमा केन्द्रित रहेर कविता लेख्ने कुरामा तपाइँको बुझाइ के छ ?
– कविता कुनै वाद वा सिद्धान्तमा बाँधिनु पर्छ जस्तो मलाई चैँ लाग्दैन ।
अन्तिममा आफ्नो कवितासङ्ग्रहलाई लिएर केही मनमा लागेका कुराहरु छन् कि ?
– त्यस्तो खास केहि छैन । मैले सकेसम्म कविताहरुलाई न्याय दिन खोजेको छु । हेरिदिनुहोस, पढिदिनुहोस । जस्तो छ त्यस्तै भन्दिनुहोस ।
उक्त कविता सङ्ग्रहभित्रबाट एउटा कविता :
समय
बर्खा आयो
अलिकति माटो बगाइदिएर गयो ।
दसै आयो
ऋणको बोझिलो भारी दिएर गयो ।
हिउँद आयो
भएको दुई गरा सालिम्बो आगो लाइदिएर गयो ।
अहो
उसले पनि बुझेको रैछ मेरो गरिबी
त्यसैले त
ऊ मलाई भेट्न
कैले खाली हात आएन
सधै उपहारमा केही न केही
लिएरै आयो ।
०००