म आफैलाई अभिव्यक्त गर्न लेख्छु : विशाल नाल्बो ।
संवाद / अन्तरवार्ता ८ मिनेट पढ्न समय

म आफैलाई अभिव्यक्त गर्न लेख्छु : विशाल नाल्बो ।

कालिम्पोङमा जन्मिएका विशाल नाल्बो चर्चित युवाकवि हुन् । सरल भाषामा हृदयस्पर्षी कविता लेख्ने उनी विमल स्मृती पुस्तकालयबाट काव्य क्षेत्रमा पुरस्कृत भइसकेका छन् । हाल काठमाडौमा बसेर कविता र मिडियामा कृयाशिल उनको थोक्ला कवितासङ्ग्रह प्रकाशनको तयारीमा छ । यहीँ सेरोफेरोमा केन्द्रित रहेर ई बड्डाका सम्पादक सन्जित फलानाले उनीसंग कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः

 

तपाईंको पहिलो कवितासङ्ग्रह थोक्लाको निम्ति बधाइ । सङ्ग्रहको नाम देखिनै कुरा सुरु गरौं । खासमा थोक्ला भनेको के हो ? यसको अर्थ के हुन्छ ?

– बधाईको निम्ति धन्यवाद, नुगेन ।
सौगात जस्तो, माइती वा मान्यपुज्य कसैलाई केही आसा र भरोसा गरि चेलीबेटीले चढाएको कोसेली ।

यसमा कस्ता कस्ता कविताहरु समेटिएका छन् ? मतलब विषयको वैविध्यको कुरा ।

– यसमा मैले विविध विषयहरुमा कविता लेख्ने कोशिस गरेको छु । त्यो क्राफ्टको हिसाबले होस् अथवा कन्टेन्टको हिसाबले होस् ।

 

कवितामा क्राफ्ट र कन्टेन्टको कुरा गर्दैगर्दा दुबै पक्षलाइ सन्तुलन गरेर कविता लेख्न कत्तिको चुनौती छ ?

चुनौती छ । शैलीमा मात्र ध्यान दिँदै गर्दा विचार पक्ष छुट्ने जोखिम रहन्छ । विचार पक्षलाई मात्र ध्यान दिँदै गर्दा शैली पक्ष कमजोर देखिन सक्छ । यो दुबैलाई सन्तुलन मिलाएर लेख्नु चाहिँ कविताको सफलता एक हदसम्म मान्न सकिन्छ ।

 

कालिम्पोङमा बसेर साहित्य कर्म गरिरहेको कवि धरान हुँदै अहिले काठमाडौ प्रवेस गर्नुभाछ । तपाईंलाइ भारतबाट यसरी नेपालसम्म तान्ने कवितै हो कि अरु नै केही ?

– कोरोनाकालमा संसार त्रसित र दुःखदायी मोडमा थियो । म सिमानामा नेपाल प्रवेश गरिपाउँ भनेर पुलिसलाई बिन्ति गरिरहेको थिएँ । सबैजना सिमानामा अल्झिएका थिए । पुलिसले मतिर हेर्दै भने, “२००० हजार मेरो हातमा चुपचाप थमाउ र बोर्डर पार गर ।” २००० भारु पुलिसको हातमा थमाएर म यसरी अवैध रुपले जसरी नेपाल भित्रिएको हुँ। तर त्यो निश्चल नितान्त कविताको यात्रा थियो ।

उता अगमसिङ गिरीहरुले नौलाख ताराको कुरा गरिरहँदा, यता भुपी शेरचनहरुले साँघुरो चोकको सकस पोखिरहेका थिए । इतिहासदेखी अहिलेसम्म निँयाल्दा मेची पारिको काव्य प्रवित्ती र मेची वारिको काव्य प्रवित्तिमा के फरक देख्नुहुन्छ ?

– लेखक र कविहरुको निम्ति कुनै सिमाना हुँदैन भने पनि सिमानाले कहिँकतै भुमिका खेल्छ खेल्छ । लेखनमा प्रवृत्ति फरकपन त पक्कै पनि समाज, परिवेश राजनीति नै हो ।

एउटा भनाइ सुनेको थिएँ “दार्जिलिङका लेखकहरुलाइ कि त कालले लान्छ कि त काठमाडौले ।” कालिम्पोङमा जन्मी हुर्किएको नाताले दार्जीलिङमाथी कहेको यो भनाइको बिम्बमा मेची पारिको नेपालीभाषी कविहरुको पिडा अनुभुत गर्नुहुन्छ कि अरु नै केही ?

– पिडाको सवालमा प्राय पिडाहरु साझा हुन्छन् । किन भने मानिसभित्र हृदय हुन्छ । होइन भने प्यालेस्टाइन र युक्रेनको पीडाहरुमा हामी किन दुख्छौँ र ? झन् कवि त कवि भइहाल्यो । जहाँसम्म कालको र काठमाडौँको कुरा छ । लेखक र कविहरु बलियो सिर्जना गर्नको निम्ति फरक भूगोल र फरक समाजमा उभिनै पर्छ । मृत्यु त शाश्वत सत्य भइहाल्यो नि ।

 

कालिम्पोङकै लेखक छुदेन काबिमोले भर्खरै ‘उरमाल’ उपन्यासबाट यस बर्षको मदन पुरस्कार पाउनुभो । अब कवितामा विशाल नाल्बोहरुले मदन पुरस्कार पाउने दिन कहिले आउला ? या भनौँ त्यसको लागि अगाडीको रास्ता कस्तो रहला ?

– उरमाल मार्फत छुदेन काविमो दाजुले मदन पुरस्कार प्राप्त गर्नु । यो भारतीय नेपाली साहित्यको निम्ति नै अत्यन्तै गर्वको विषय हो । अब कुरा रह्यो नाल्बोहरुले मदन पुरस्कार पाउने दिन कहिले आउला त ? भन्ने । यसको चाहिँ ठ्याक्कै जवाफ मसँग छैन हे हे हे ।

 

तपाईंको निम्ति कविता के हो ? किन लेख्नुहुन्छ ?

– पहिलो कुरा त म आफैलाई अभिव्यक्त गर्न लेख्छु । त्यसपछि समाज, समय र आफू बाँची उभिएको धरातल लेख्छु । कवितामा कविले जुन (म)लेख्छ नि त्यो कवि स्वयम नभएर उ बाँचेको समाज हो । उसको भित्री तह हो । यस मानेमा म एउटै शब्दमा भन्छु (मेरो निम्ति कविता धेरै थोक हो जो अक्षरहरुको व्याख्या इतरमा छ ।

 

अन्तिममा मैले सोध्न छुटाएको वा तँपाइलाई यो चैँ सोधिदिए हुन्थ्यो भन्ने लागेको केही छ कि ?

– जीवनमा भन्छु, भन्छु भन्दै छुटिगएका शब्दहरू धेरै हुन्छन् । सोध्छु भनेर बिर्सिगएका वाक्यहरु पनि धेरै हुन्छन् । मेरो कविताको पुस्तक थोक्ला आउने बारे यसरी प्रेम पुर्वक खोजतलासी गरेर प्रश्नहरुको कठघरामा उभ्याइदिनु भो, यहीँ कुरा नै मलाई सबैभन्दा प्रियकर छ ।

 

उक्त कविता सङ्ग्रहभित्रबाट एउटा कविता :

 

ढुङ्गा 

 

कालिगडले कुँदे-पछि मूर्ति बन्छ ढुङ्गा ।

कविहरू ढुङ्गालाई कट्टरताको नाउँ दिन्छन्

र- लेख्छन् कविता ।

 

कि- ढुङ्गा भनेको कट्टरताको-प्रतिमूर्ति हो

-आम मानिसहरू- ढुङ्गालाई ईश्वर मान्छन्

र- राख्छन् देवी-थानमा ।

 

पहिरो खस्दै पछि-

-एक

-ठाउँबाट/अर्को-ठाउँ विस्थापित बन्छ-ढुङ्गा

-पल्टिँदै

-पल्टिँदै

-जान्छ कतै-

 

-ढुङ्गा आफू त

-अनविज्ञ छ-

-उसको महत्त्व

-क______ति छ

-यो पृथ्वीमा___?

 

-ढुङ्गा

-त्यति कठोर पनि हुँदैन-

जति-

कविहरू-लेख्छन् कवितामा ।

सबैबाट हारेर एक दिन

-ढुङ्गा

खस्दै-

खस्दै- खोलाबिच पुग्छ र-बेस्सरी रुन्छ ।

 

त्यसपछि

बग्दै-

बग्दै-गएर उसको आँसु नदी बन्छ ।

-वास्तवमा

त्यतिखेर- थाहा हुन्छ-ढुङ्गाको

कोमलता-

———

सम्बन्धित ट्यागहरू