सचेत कविले आफू बाँचेको समय परिवेश लेख्नु आवश्यक छ : ऋजन मायालु ।
ऋजन मायालु इलाममा बसेर कविता लेखनमा सकृय कवि हुन् । भर्खरै उनको घुम्ती विक्रीमा छ शिर्षकको कवितासङ्ग्रह प्रकाशनमा आएको छ । यहिँ सेरोफेरोमा उनिसङ्ग ई बड्डाका सम्पादक सन्जित फलानाले कुराकानी गरेका छन् । प्रस्ततु छ उक्त कुराकानीको सम्पादित अंश :
कविता कृतिको रुपमा “घुम्ती विक्रीमा छ” तपाईंको दोस्रो संग्रह । पहिलेको संग्रह “चुचुरो अनि स्वास्नीमान्छेहरू” को र “घुम्ती विक्रीमा छ” को ऋजन मायालुमा के फरक भेट्नुभएको छ ?
– मान्छे बच्चा जन्मन्छ तन्नेरी हुर्कन्छ । “चुचुरो अनि स्वास्नीमान्छेहरू” बच्चा जन्मिएको हो “घुम्ती विक्रीमा छ” तन्नेरी बाँचिरहेको छ । यसअर्थमा, अहिले ऋजन मायालु तन्नेरी बाँच्न खोज्ने संघर्षमा छ ।
तपाईं इलाममा बसेर कवितामा साधनारत कवि । इलाम भन्ने वित्तिकै हामी चिया सम्झन्छौँ । तपाईंको कवितामा हामी इलामे स्वाद कतिको रसपान गर्न सक्छौँ ?
– सचेत कविले आफू बाँचेको समय परिवेश लेख्नु आवश्यक छ । तसर्थ मैले आफ्नो समय परिवेश नलेखी कवि हुने छुट नै छैन । तपाईंलाई इलामे स्वादको चिया रसपान गराउन यस संग्रहभित्र एउटा “पोक्ची दिदीको कथा” शिर्षकमा कविता छ । त्यो कविता पढेपछि मिठो स्वाद आउँछ जस्तो मलाई लागेको छ ।
भनिन्छ कविता एकान्तमा जन्मिन्छ । तपाईंलाई हरियाली चियाबारी, डाँडाकाँडा, हुस्सु र कुहिरो बिच घेरिएर कविता लेखिरहँदा के एउटा कविको निम्ती कविता लेख्न एकान्त, शान्ती र प्राकृतिक शौन्दर्य भए पर्याप्त हुन्छ जस्तो लाग्छ कि अन्य तत्वहरुको पनि उत्तिकै आवश्यक्ता देख्नुहुन्छ ?
– लेख्नका लागि एकान्त ठाउँ अवश्य आवश्यक पर्छ तर यसो भन्दैमा एकान्त, शान्ती र प्राकृतिक शौन्दर्य बिचमा हुर्कने सबैले कविता लेख्छन भन्ने छैन । जब समय आक्रान्त हुन्छ, जब मन आक्रान्त हुन्छ तब कविताको रुप लिएर भुईँमान्छे भनौँ दलनमा दविएका मान्छेको आवाजको प्लाकार्ड बोकेर कविता आन्दोलनमा निस्कन्छन् ।
कविताको अलावा तपाईं बैँकको कर्मचारी पनि हुनुहुन्छ । आफ्नो दैनिक रुटिनको बावजुद कविता कर्मको निम्ति कसरी समय मिलाउनुहुन्छ ?
– कविता मेरो लागि लत हो । यतिखेर म, एउटा ए –फोर साइज पेपर र बलपेन बोकेर दिउँसोको आधा घण्टाको खाजा खाने समयमा तपाईंको प्रश्नको उत्तर लेखिरहेकोछु ।
तपाईंको लागि कविता लेखन फगत स्वान्त सुखायमात्रै हो कि यसको अरु प्रयोजन पनि छ ? खासमा कविता किन लेखिन्छ जस्तो लाग्छ ?
– वर्तमानको कविता भविष्यको लागि एउटा लिखित दस्तावेज समेत हो । कविताले एउटै कुरालाई हजारौँ तरिकाबाट भन्न सक्दछ र गर्न सक्दछ । कविको कल्पनाशीताबाट शासक डराउँछ । त्यसो भएर होला, शासक पनि म कवि हुँ भन्ने होडमा लागेको हुन्छ । जिन्दगीमा कविताले दिने मिठास, विद्रोह, आलोचना अरु कहीँ पनि पाउन सकिदैँन त्यसैले म कविता लेख्छु त्यसैले कविता लेखिन्छ जस्तो लाग्छ ।
अहिले कृत्रिम बुद्धिमता अर्थात एआइले कविता लेख्दा कविहरूको अस्तित्व संकटमा त पर्ने हैन भन्ने बहस नि उठिरहेको छ । यस्तो अवस्थामा अबका चुनौतिहरू के के हुन सक्छन् ?
– पहिले भनिसकेकै कुराहरू खोजेर एआइले उत्तर दिन्छ सायद । सबैभन्दा खत्रा मानिसले पाएको चिज भनेको चिन्तन गर्ने शक्ति हो र त्यो भन्दा अझै खत्रा चिज हो मानिसको जिन्दगीको भोगाइ । कविहरूले चिन्तनमा डुवेर लेख्नुपर्छ कविता, जीवनभोगको अनुभूतिले लेख्नुपर्छ कविता । केएआइले अनुभूती गरेर कविता लेख्न सम्भव होला ? चुनौती भनेकै यही हो – एआइले जस्तो संसारको सबै कविता एउटा कविले पढिनसक्नू ।
पछिल्लो समय कविता डिजिटल फर्म्याटमा गईसकेको अवस्था छ । अब कविता पढ्ने कुरा मात्रै नभएर सुन्ने, बिक्री हुने र मनोरञ्जन लिने बजारको बस्तुमा परिणत हुँदै गइरहेको छ । के कविता टेक्स्टमात्रै हो कि अरुपनि केहि हो ?
– हरेक कुरामा नयाँ प्रयोग आवश्यक छ विकासको लागि । कवितामा पनि त्यस्तो प्रयोग हुनु नौलो कुरा होईन, यो हामी सबैको लागि खुशीको कुरा हो किनभने यसले कविताको मूल मर्म मारेको छैन झन हेर्ने, सुन्ने, पढ्ने आम मानिससम्म सहज रुपमा पुर्याउन सहयोग गरेको छ । यसले उत्प्रेरणा दिन्छ, कल्पनाशिल बनाउँछ, मौनतालाई आवाज दिन्छ, अन्याय माथी प्रश्न गर्न सिकाउँछ । तसर्थ कविता कहिल्यै टेक्स्ट मात्र हुन सक्दैन, कविता मनको भाव हो जसलाई महसुस गरिन्छ ।
अन्तिममा मैले सोध्न छुटाएजस्तो लागेको र तपाईंलाई भन्न मन लागेको त्यस्तो केही कुराहरू छन् कि ?
– कविता आफैमा एउटा सुन्दर अनुभव हो । यसलाई फूल्न दिनुपर्छ ।