मेरो कविताको मञ्चमा हामीले खोजेको कवि र कविता नै हो : निर्देशक केवल क्षेत्री र सहनिर्देशक पवित्र राई । मेरो कविता द रिदम अफ पोयट्री
संवाद / अन्तरवार्ता १० मिनेट पढ्न समय

मेरो कविताको मञ्चमा हामीले खोजेको कवि र कविता नै हो : निर्देशक केवल क्षेत्री र सहनिर्देशक पवित्र राई । मेरो कविता द रिदम अफ पोयट्री

झापाको, दमक स्थित बेलडाँगीबाट सुरु हुन लागेको कवितामा आधारित रियालिटी सो मेरो कविता द रिदम अफ पोयट्री का लागि ई बड्डाका प्रधानसम्पादक युग सर्वनामले उक्त शोका निर्देशक केवल क्षेत्री र सहनिर्देशक पवित्र राईसँग गरेको कुराकानीको सम्पादित अंश :

 

मेरो कविता कसको कविता (मञ्च) हो ? मेरो कविता रियालिटी सो को ढाँचा कस्तो छ ?

– मानवीय संवेदना, अनुभूति र काव्यिक प्रतिभा बोकेर हिड्ने मनहरूको मञ्च हो मेरो कविता ।
प्राय रियालिटी सो हरूको फर्म्याट केही हदसम्म उस्ताउस्तै हुने गर्छन् । हामीले पनि केही हदसम्म त्यसरी नै काम गर्ने प्रयास गरिरहेका छौँ । मेरो कविताको मञ्चमा हामीले खोजेको कवि र कविता नै हो । तथापी स्वर, लय, संगीत, मौनता र दृश्यको सामुहिक प्रयत्न हाम्रो उद्देश्य हो ।

एउटा पुरातन भाष्य छ, मोफसल र केन्द्र भन्ने । उक्त भाष्य अनुसार तपाईंहरू मोफसलमा यस्तो ग्रान्ड सो गर्दै हुनुहुन्छ । तपाईंहरूलाई केन्द्रसँग डर लागेर हो कि वा उक्त भाष्यलाई चिर्न मोफसलमै रहेर यस्तो काम गर्दै हुनुहुन्छ ?

– डर हुने भए यो सो को जन्म हुँदैन थियो होला । अर्को कुरा मान्छेले आफ्नो भागको कर्म गर्ने हो । चाहे केन्द्रमा रहेर होस वा मोफसलमा । कति आफ्नो कर्ममा सफल हुन्छन् कतिले सिकाई आर्जन गर्छन् । यसो भनिरहँदा यति चै भन्न सकिन्छ कि, केन्द्र र मोफसल बिच जुन दुरी छ त्यसको मापन केही हदसम्म मेरो कविताले गर्नेछ ।

नेपालमा पहिलो कविताको रियालिटी सो को कन्सेप्ट दि पोएट आइडलले ल्यायो । तर उक्त सो पनि अन्य सो भन्दा कम कन्ट्रोभर्सिमा रहेन । यो मेरो कवितालाई कन्ट्रोभर्सिबाट जोगाउन के के गर्दै हुनुहुन्छ ?

– सकेसम्म हामीले व्यक्ति, सामज, उनीहरूको संस्कार, संस्कृतिलाई आघात नपुग्ने गरि सन्तुलनमा रहेरै काम गर्ने कोसिस गरिरहेका छौँ ।
तर कुनै पनि विषयलाई लिएर हेर्ने वैचारिकी हर मान्छेको आफ्नै हुन्छ । र हामीलाई लाग्छ, बिचार रहेसम्म कन्ट्रोभर्सि रहिरहन्छ ।

केही जान्ने सुन्नेहरु भन्नूहुन्छ (ऐले त पाठक श्रोता वा दर्सकहरू पनि उपभोक्तावादी मात्रै छन् । मतलव कोही पनि गहिरिएर पढ्ने, सुन्ने वा बुझ्ने कोसिस गर्दैनन् । कस्मेटिक र फास्ट्फूडमा रमाइरहेका छन् । तपाईंहरू चै यस कविताको रियालिटी सो बाट कस्तो अपेक्षा गरिरहनु भएको छ, के उक्त दर्शकरस्रोताहरूको चेतनामा केही फेरवदल गर्न सक्ने सो बन्ला त यो ? त्यसका आधारहरू के के छन् ?

– हामीले अघि पनि प्रष्ट भनिसकेका छौँ कि, सबै मानिसका आफ्नै विचार हुन्छन् । आफ्नै रोजाइहरू हुन्छन् । आजको प्रविधिको युगमा सामाजिक मञ्चहरू प्रसस्तै उपलब्ध छन् । जहाँबाट मान्छेले आफ्ना रुचि अनुसार लाभ लिइरहेका छन् । कतिले समयको बर्बादी मात्रै पनि गरिरहेका छन् । प्रविधिले सबैलाई प्रभाव पारिरहेको यो समयमा पनि अझै भेटिन्छन् नि पुस्तक किनेर पढ्ने पाठकहरू, राम्रो चिज रोजेर हेर्ने सुन्ने दर्शक श्रोताहरू । यसर्थ हाम्रो प्रयास भनेको असल कविता र कविलाई पहिचान गर्नु हो । त्यसमा पाठक वा दर्शक, श्रोताको चेतनाले नै निर्धारण गर्छ कि, उसलाई कस्तो चिज मन पर्छ । वा के हेर्ने के सुन्ने अनि के पढ्ने भन्ने ।

रियालिटी सो गर्नेहरूले उक्त सो मार्फत व्यापार सोचेर नै गर्ने गरेको देखिन्छ । जसले गर्दा साँच्चैका प्रतिभाहरू जानाजान बाहिरिनु पर्ने हुन्छ । तपाईंहरूले पनि यो कविताको सो (जसको दर्शक, श्रोता वा पाठक पनि तुलनात्मक हिसाबले कम हुन्छन्) लाई व्यापार सोच्दै हुनुहुन्छ कि साँच्चैको प्रतिभाहरूले स्थान पाउँछन् ?

– हामीले कार्यक्रमको फर्म्याटमा बसेर प्रतिभाहरु खोजिरहँदा एक विन्दुमा पुगेर बाहिरिनु पर्ने हुन्छ नै । हामीले निर्णयककै भरमा मात्रै पनि विजेता घोषित गर्न मिल्दैन । एउटा प्रतिभा विजेता भइरहँदा, अन्त्यमा ऊ पुग्ने भनेकै पाठक, दर्शक, श्रोतासम्म हो । यसर्थ हाम्रो उद्देश्य भनेको निर्णायक र दर्शक श्रोताको मतलाई स-सम्मान सहभागी गराउदै खास प्रतिभालाई अघि बढाउने नै हो ।

कविता चैँ सुरुमा पढ्ने गरिन्थ्यो । पछिल्लो समय सुन्ने चलनमा पनि बिस्तारै गइरहेको देखिन्छ । अझ अहिले त म्युजिकसँग फ्युजन गर्ने चलन पनि छ (कति कविताहरू गीतै बनेका उदाहरणहरू छन्) तपाईंहरूले यो सो को कविता रिसाइटेसनमा कस्तो विधि अपनाउनु भएको छ ?

– पढिने विधाबाट सुरु भए पनि समयसँगै त्यसको प्रस्तुति शैली विस्तार र फराकिलो हुँदै गएको छ । यो चाहि समयको माग पनि हो । जसले कवितालाई पाठक र श्रोता दर्शकसम्म पुग्नलाई अझ ठुलो भूमिका खेलेको छ जस्तो लाग्छ । हाम्रो सो को हकमा भन्नू पर्दा, हामीले कविताको आत्मा जोगिने गरी प्रस्तुतिको विविधतालाई अपनाउने निर्णय गरेका छौँ । केही कविताहरू शुद्ध वाचनमा प्रस्तुत हुनेछन्, केही कविताहरू सौम्य संगीत, ध्वनि र केही कविताहरू नाट्य शैली सहित प्रकाशको संयोजनमा ध्यान दिएका छौँ । जसले कविताको भावनात्मक प्रभावलाई अझ गहिरो, अर्थपूर्ण बनाउनेछ भन्ने विश्वास लिएका छौँ । तर हाम्रो उद्देश्य स्पष्ट छ—संगीत, वा फ्युजन कविताको सहायक मात्र हो, यिनीहरू कविताको विकल्प होइन । परम्परा र प्रयोगबीच सन्तुलन राख्दै हामी कविता सुन्ने र महसुस गर्ने एक असिम अनुभुति प्रस्तुत गर्न चाहन्छौँ ।

के अहिले कविता पढ्नेरसुन्ने दर्शक, श्रोता छन् ?  एउटा कविता रियालिटी सो को परिकल्पना गरिरहँदा के सोच्ने भो ?

– जहाँ भाव छ, त्यहाँ पाठक वा श्रोता दर्शक हुन्छन् जस्तो लाग्छ । पहिले किताब, गोष्ठी र हलमा सीमित श्रोता थिए भने, अहिले डिजिटल प्लेटफर्म, लाइभ प्रस्तुति, संगीतसँगको फ्युजन, र दृश्यात्मक अभिव्यक्तिमार्फत नयाँ पुस्ता कवितासँग जोडिँदै गएका छन् । कविता केवल पढ्ने विधाबाट हेर्दै अनुभव गर्ने कलात्मक विधा बन्दैछ ।
यसर्थ हिजोका विशुद्द पाठकहरू क्रमशः श्रोता, दर्शकमा रूपान्तरण हुँदै गएजस्तो लाग्छ । हाम्रो यहीँ विश्वास नै हाम्रो आँट र उर्जा हो ।

अन्तिममा सो बारेमा पाठक, दर्शक श्रोताहरूलाई केही भन्नु छ कि ?

कविता कुनै एक व्यक्तिको प्रस्तुति मात्र होइन । तपाईं हामी सबैको अनुभूतिको साझा भाषा हो। यो सो कविहरूको प्रतिस्पर्धा भन्दा बढी भाव, विचार र संवेदनाको उत्सव हो । खुलेर सुन्नुहोस् । आफ्नै जीवनसँग जोडेर महसुस गर्नुहोस् । मन परेको कवितालाई साथ दिनुहोस् र मन नपरेकोला सोच्ने मौका दिनु नै हुनेछ । तपाईंहरूको उपस्थिति, प्रतिक्रिया र सहभागिताले नै यो यात्रा सफल हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ, धन्यवाद ।

 

  • मेरो कविता माघ चार अर्थात भोलिबाट TNP UNIVERSE युटुब च्यानलमा प्रसारण हुँदैछ ।