‘फगत भीड’ कविता :
फगत भीड
– मिथोच
मानौं कि हामी
उनीहरूको लागि
भोट कार्ड हौं
जो आफु विजेता हुनको लागि
क्षणिक मात्र प्रयोग गर्छन् ।
थाहा छ
उनीहरूलाई
हाम्रो बुढी औंला बाहेक
अरु केही आवश्यक पर्दैन
हामीसँग भएको
बुढी औला मात्र मागिरहेका छन् ।
हामीले
विश्वास गर्दै
समर्थन गर्दै
छोपेर विचारको आँखा
मतपेटिकामा
एक एक औंलाहरू चढायौं
हाम्रै औलामाथि
धारिलो चक्कु राख्न दियौं
हाम्रो औंलाका ट्रका ट्रका परिकार
उनीहरूको थालमा भरिएका छन् ।
हाम्रो औलाहरूले
हाम्रो होइन कि
उनीहरूकै बाटो देखाई दियो
लिएर हामीबाट औंला
उनीहरू भने रातारात
कहाँ कहाँ पुगी सके
हामीहरू भने अझैँ
सडकमै उफ्रिरहेका छौँ
चिच्याई रहेका छौँ
हामीलाई सडकमा उफारेको
यो कुनै पहिलो नयाँ घटना छैन
यो बर्षौ अघिको निरन्तरता मात्रै छ
अझैँ हामीहरू
चटकेको यो निरन्तरतलाई साथ दिन
फेरि उही फगत भीडमा
सडकभरी जम्मा भई रहेको खेलले
अझैँ हामीमाथि गर्ने छ झेल ।
आगोको पिदार कविता सङ्ग्रह बजारमा ल्याएका कवि मिथोच सम्भव समूहमा आवद्व छन् ।