कबाड भेलाउँदै, सपना पुरा गर्दै :
ब्लग १८ मिनेट पढ्न समय

कबाड भेलाउँदै, सपना पुरा गर्दै :

कबाड भेलाउँदै, सपना पुरा गर्दै ।

 

छोटुलाल ठाकुरको एउटै दैनिकी छ, बिहान छ बज्नेबित्तिकै पुरानो फोनिक्स साँइकल लिएर कोठाबाट निस्कने अनि गल्लि गल्लि चहारेर थोत्रो टिन, फलाम, कागज र रित्तो शिशिहरू संकलन गर्ने । ति संकलन गरेका कबाड सामानहरू खरिद गर्न सहरमा प्रसस्त कबाडखानाहरू छन् । जहाँ खुद्रा मुल्यमा कबाडि समानहरू बिक्रि गरेर छोटुलालले आफ्नो महंगो सपना खरिद गरिरहेको छ ।

पन्ध्र बर्ष अगाडि किनेको फोनिक्स साँइकलको रुपरंग खुइलिसक्यो । ह्याण्डिल, क्यारियर र डण्डाहरू जिर्ण भइसक्यो । टायर र तिल्लिहरू उप्किसक्यो । तैपनि नियमित कबाडिको भारी बोकेर सडक र गल्लिहरूमा घाम उदाएर नअस्ताएसम्म सपना बोकेर ठाकुर दौडिरहन्छ ।

छोटुलाल राजधानी छिरेको एक बर्षपनि भएको छैन । तर उसलाई यहाँको गल्लि र सडकहरू बषौँ बर्षअघिबाट परिचित आफन्तहरूझैँ लाग्छ । इमाडोलको गाविस अफिस छेउको सरस्वति टोलमा एउटा सानो कोठा लिएर तिनजना परिवारसहित बसिरहेको ठाकुरले ग्वार्को, टिकाथली, हरिसिद्धि, हात्तिवन र सानागाउँका विभिन्न गल्लिहरू चहारिसकेको छ । उसको श्रीमति गमिरादेवी ठाकुर कोठा नजिकैको गार्मेन्ट फ्याक्ट्रिमा काम गर्छिन् । जेठो छोरो सन्तोष जडिबुटि काउन्टरछेउमा सब्जि पसलमा काम गर्छ भने कान्छा छोरा सुबोध पठाओ चलाउँछ ।
साँइकलजस्तै खिइएर काम गर्दापनि दिनको पुगनपुग हजार रुपैँया कमाइ हुन्छ । त्यति कमाइ सुरुमा त कोठाभाडा तिर्न र खानलाउनमै ठिक्क हुन्थ्यो । बिस्तारै श्रीमति र छोराहरूले पनि काम गर्न थाले । चार जनाले कमाउन थालेपछि भने उसलाई अलि सजिलो भयो । दैनिक गुजारा चलाउने खर्चबाहेक बाँकि रकम बोकेर उ हरेक महिनाको अन्तिमतिर लक्ष्मि सनराइज बैँङ्क पुग्छ । तर पैसा बचत गर्न हैन, घर धितो राखेको बैङ्कको लोन तिर्न ।
हो छोटुलालको सपना भनेकै बैङ्कको बाह्र लाख लोन तिरेर धितो राखेको घर उकास्ने हो । अनि फेरि इमाडोल सरस्वति टोलको डेरा छोडिवरी आफ्नै गाउँ रौतहट फर्किने हो ।
उसो त एक दशकअघि उसको सपना अर्कै थियो।
……

उसलाई पढ्न लेख्न उति मुस्किल भएन । सिकर्मि बाप र किसान मा’ले दस कक्षा सम्म कुनै कठिनाइबिनै पढाए । उसले चवाँलिस सालमा एस एल सि पास गर्यो । त्यतिबेलाको समयमा एस एल सि गर्नु चानचुने कुरा थिएन । एस एल सि गरेपछि प्राय मान्छेहरू जागिरतिर प्रवेस गर्थे । उसको गाउँकै एकजना दाइ म्याग्दिमा शिक्षण गथ्र्यो । एकदिन त्यो दाइले छोटुलाललाई पनि आफुले शिक्षण गरिरहेकै ठाउँमा जागिर लगाइदिने कुरा गर्यो । जागिरको कुरा सुनेर छोटुलाल मखलेल भइहाल्यो । र दाइको पछि लागेर म्याग्दिको बिमा गाविसस्थित नौमाने प्राथमिक विद्मालयमा पुग्यो ।
नौमाने स्कुलमा पढाउँदापढाउँदै उसलाइ नजिकै मराङ गाविसको राम्चि प्रा वि बाट प्रधानध्यापकको लागि प्रस्ताव आयो । शिक्षक भएर काम गरिरहेको उसले प्रधानध्यापकको प्रस्ताव स्विकार गरिहाल्यो । र सुरु भयो उसको नयाँ जागिर ।

अनुदान कोटाको जागिर ठिकै थियो । त्यै माथि प्रधानध्यापकको काम, खासै पढाउन पर्थेन । जागिर खाएको अर्को बर्षमा उसले विवाह गर्यो । जग्गा आफ्नै थियो, पाँच बर्षपछि तिनतले घर पनि बनायो । तर सन्तानको लागि भने बाह्र बर्ष कुर्नपर्यो । बाह्र बर्षमा पहिलो छोरा जन्मियो, सन्तोष । सन्तोष जन्मिएपछि उनिहरूको जिन्दगि पनि सन्तोषजनक नै बित्न थाल्यो । लगत्तै दुइ बर्षपछि कान्छो छोरा पनि जन्मियो, सुवोध ।

छोराहरू हुर्किँदै गए । उसले सन्तोषलाई इन्जिनियर बनाउने सपना देख्न थाल्यो । कक्षा आठसम्म गाउँकै प्रभात सेकेण्डरि बोर्डिङ स्कुलमा पढाएर नौ र दस पढाउन ललितपुरको च्यासलस्थित एउटा सरकारी स्कुलमा भर्ना गरिदियो । बापको इच्छाअनुसार सन्तोषले पनि एस एल सि राम्रै डिभिजनमा उत्तिर्ण गर्यो ।
एस एल सि दिएपछि मेकानिकल इन्जिनियरिङ अध्ययन गराउनको लागि उसले इन्जिनियरिङ पढिरहेको गाउँकै एकजना साथिको छोरासंग बुझ्यो । उसले भारतको उत्तराखण्डको रुर्किमा मेकानिकल इन्जिनियरिङ पढरहेको रैछ । त्यहाँ पाँच लाखमै इन्जिनियरिङ कोर्ष पुरा हुने रैछ । छोरालाई इन्जिनियर बनाउने सपना देखेको उसले खुसि भएर ऋिणपान गरिवरि २०७४ सालमा छोरालाई रुर्कि पठायो ।

छोरालाई रुर्कि पठाएको अर्को साल तिस बर्षको अध्यापन सेवापछि उसले दस लाखसहित गोल्डेन हेनसेक पायो । जागिरबाट अवकास पाएर उ म्याग्दिबाट रौतहट फर्कियो । अनि गोल्डेन हेनसेकबाट पाएको पैसाले एउटा सानो किराना पसल खोल्यो । त्यतिञ्जेलसम्म दिनहरू राम्रैसंग बितिरहेको थियो ।

छोरा इन्जिनियर भएर फर्किन्छ, छोटुलालले दिनरात यहिँ सपना देख्ने गथ्र्यो । खेतमा लहलह झुलिरहेको धानको बालाहरूजस्तै उसको सपना पनि लहलहाइरहेको थियो । उता इन्जिनियर पढ्न गएको सन्तोष भने साथिहरूको संगतले नसामा डुब्न थाल्यो । छोरालाई पढाइमा बाधा नपुगोस् भनेर छोटुलालले दिनरात मिहेनत गरेर महिनौँ पिच्छे खर्च हाल्दिन्थ्यो । पढ्न छोडेर उता सन्तोषले भने बालुवामा पानी खन्याएजस्तै चुरोट, गाँजा र चरेसहरूमा पैसा उडाउन थाल्यो । तर यो कुरा घरमा कसैलाई पनि थाहा भएन । बिस्तारै सन्तोष नसाको अम्मलि भयो । खान, बस्न र पढ्नको लागि भनेर घरबाट आएको खर्चले उसलाई पुग्न छाड्यो । त्यसपछि बापलाई रोज रोज पैसा माग्न थाल्यो । बिचरालाई खर्च अपुग भयो भनेर तिन चार महिना त बापले पनि भन्नेबित्तिकै पैसा पठाउन थाल्यो । तर बिस्तारै खर्च जुगाड गर्न गाह्रो भयो । नाथे किराना पसलबाट कति नै आम्दानि हुन्थ्यो र ? फेरि घरमा खर्च पनि हुन्थ्यो । उसले छोरालाई फोन गर्दाखेरि सन्तोष नसामा फँसेको थाहा पायो । छोराको खबर थाहा पाउन बित्तिकै उसलाई छाँगाबाट खसेझैँ भयो ।

पढ्न पठाएको छोरा नसामा फसेको सुन्दा कुन चैँ बाउको मन रुँदैन र ? छोटुलाल पनि बर्बरी आँसु झार्दै बेस्सरि रोयो । आफुले देखेको सपना उता छोराले चकनाचुर बनाएको सम्झिँदा उसको मन पनि छिया छिया भयो । आँसुको सागरमा पिडा धोइवरि उसले आफुलाई दह्रो बनायो । अनि सन्तोषलाई गाली गरिवरि खर्च नपठाइदिने अड्डि कस्यो । तर एउटा बाउको मन न हो, कहाँ निर्दयी बन्न सक्थ्यो र ? छोराले रोइ कराइ खर्च मागेपछि उसको मनमा माँया टुसाइहाल्थ्यो । फेरि नसाको तालमा बहुलठ्ठिएको छोराले सडकमा भिख माग्नपनि के बेर ? सोचेर उ डरायो पनि ।

किराना पसल बेचेको केहि महिनापछि उसले पाँच लाखमा एउटा खेतपनि बेच्यो । त्यो पैसा पनि घरव्यवहार र सन्तोषको लागि नै खर्च भयो । पसल र खेत बेचेपछि उनिहरूलाई हातमुख जोर्न निक्कै धौ धौ हुन थाल्यो । यता उनिहरू ऋणमा डुब्न थाले, उता सन्तोष नसामा । जति गर्दापनि उनिहरूले छोरालाई नसाबाट मुक्त गराउन सकेनन् । तिन बर्षपछि सन्तोष घर फर्कियो । रुर्कि जाँदा उ जस्तो हुलियामा थियो फर्किँदा विलकुल फरक थियो । खाइलाग्दो शरिर दुब्लाएर सिन्काझै भएको थियो । अनुहारको रुपरंग फेरिएको थियो । पुस्तक बोक्ने झोलाभरि गाँजाको धुलोहरू थियो । कलम बोक्ने गोजिभरि सिगरेटका प्याकेटहरू थियो । इन्जिनियर बनेर आउला भनेको छोरा नसामा लठ्ठ भएर फर्किएको देखेर छोटुलाल गमिरादेवीको काँध हालेर ग्वाँर्ग्वाँर्ति रोयो ।

घर आएपछि छोरालाई सुधार्न छोटुलालले धेरै पहल गर्यो । सुधार केन्द्रातिर कुदायो । योग र ध्यान शिविरतिर पठायो । तर सन्तोषले नसा छोड्न सकेन । बरु गाउँकै अन्य गजेडि केटाहरूसंग मिलेर झन् लति हुन थाल्यो । दाइको चिन्ताले कान्छा सुवोधको पनि पढाइमा ध्यान जान छाड्यो । तैपनि उसले आफ्नो धर्म छोडेन ।
खुसिसाथ बितिरहेको छोटुलालको दिनहरू एकाएक नराम्रो तरिकाले गुज्रिन थाल्यो । आर्थिक रुपमा त विपत आइलागिरहेकै थियो । सामाजिक रुपमा पनि उसको इज्जतमाथि धब्बा लाग्न थाल्यो । हेडमास्टरको छोरा गजेँडि भयो भनेर गाउँलेहरूले कुरा काट्न थाले । उसलाई जिउँदै मरेतुल्य भयो ।

एकपटक बाप र मा’को उदासिनता देखेर सन्तोषले सुध्रिने विश्वास दिलायो । अनि इन्डिया काम गर्न जान्छु भनी बापसंग २५ हजार माग्यो । छोराको मति फिर्यो भनि खुसि हुँदै ऋण काढिवरी छोटुलालले तुरुन्त मागेजति पैसा दियो । तर त्यो इन्डिया जान छाडेर सन्तोषले फेरि त्यो पैसा केटाहरूसंग मिलेर नसामै खर्च गर्यो । छोराको यस्तो कर्तुत देखेर छोटुलालको नौनाडि गल्यो ।

एकदिन नसामा लठ्ठ भएर बजारमा बसिरहँदा प्रहरिहरूले सन्तोषसहित उसका केहि साथिहरूलाई पक्रिए । छोरालाई प्रहरिले पक्रिएएको खबर सुन्नबित्तिकै आत्तिँदै छोटुलाल र गमिरादेवी चौकि पुगे । छोराको तर्फबाट माफि माग्दै उनिहरूले असइसमक्ष अनुनय विनय गरे । तर असइले उसको विन्ति सुनेन । बरु केहि दिन जेलमा राखेर धरौटिमा छुटाउने कुरा गर्यो । आज छुट्ला भोलि छुट्ला भन्दाभन्दै सन्तोष ७१ दिनसम्म जेलमा बस्यो । अन्तत लाचार भएर छोटुलालले आफुले तिस बर्ष जागिर गरेर निर्माण गरेको घर लक्ष्मि सनराइज बैङ्कमा धितो राख्न बाध्य भयो । अनि दुइ लाख तिरिवरी छोरालाई धरौटिमा छुटायो ।

घर बैङ्कमा धितो राखेपछि उनिहरू सुकुम्बासी झैँ भए । आँसुले टिलपिल भएका मा, बाप र भैया अनि धितो राखेको घरखेत सम्झेर सन्तोषले पहिलोपटक आफुले गरेको गल्तिको पश्चाताप गर्यो । त्यो दिन उसको अंगअंगमा चढेको नसा आँसुको अविश्रान्त धारा भएर बग्यो । सुकुम्बासीझैँ भएपपनि छोराको मति फिरेको खुसिले छोटुलालमा फेरि उठ्ने आत्मविश्वास भरियो ।

ऋण र लज्जाले गाउँमा बस्ने स्थिती भएन । साहुहरूले निद हराम गरिहन्थे । केहि दिनपछि कमाइ गर्ने आसले श्रीमति र छोराहरूसहित लत्ताकपडा, भाँडाकुँडा र केहि खर्च लिएर छोटुलाल राजधानि छिर्यो । त्यतिबेला उसको साथमा परिवारसहित त्यहिँ पुरानो फोनिक्स साँइकलमात्रै थियो ।

भन्नमात्रै सपनाको सहर काठमाडौँ हो । यहाँको दुखको फेहरिस्त भनिसाध्य छैन । काठमाँडौ आएर उनिहरू इमाडोलको सरस्वति टोलमा डेरा लिएर बसे । गाउँबाट ल्याएको अलिकति खान बस्नमै ठिक्क भयो । एक दुइ हप्ता काम खोज्न भौतारिएपछि उसले इमाडोलकै सतिस श्रेष्ठको किराना पसलमा काम पायो । महिनाको पन्ध्र हजार तलबमा । तर त्यहाँ तिन चार महिनाभन्दा धेरै काम भएन । काम टुट्दाखेरि झण्डै उसको मनपनि टुट्यो । एकदिन कबाडमै काम गर्ने साथिले उसलाई आफुसंगै काम गर्न सुझायो । साथमा फोनिक्स साइँकल छँदै थियो । उसलाई साथिको कुरा ठिक लाग्यो । र सुरु भयो उसको नयाँ पेसा, कबाडी संकलन गर्ने ।
…..

चोक र गल्लिहरूमा दगुर्दैगर्दा लक्ष्मि सनराइज बैङ्कको अफिस देख्यो कि छोटुलाल ऐँठन लागेजस्तै झस्किन्छ । बाटोवरपर उभिएका बिल्डिङहरू देख्यो कि उसलाई आफ्नो तिनतले घरको सम्झनाले लखेट्छ । कतै कबाडि सामानहरू भेलाउँदाभेलाउँदै गल्लिहरूमै प्राण जाने त हैन ? सम्झिएर उ आत्तिन्छ । हे भोलेनाथ ! सकुसल रौतहट नफर्किएसम्म मलाई केहि पनि नहोस् । उ गल्लिको हरेक मन्दिरहरूमा भगवान पुकार्छ ।

उमेरको पचपन्न टेक्दै गरेको छोटुलालको आयु साँइकलको पाङ्ग्राहरूजस्तै फनफनि घुमिरहेको छ । कपाल तिलचामले भएर फुल्दैछ । शरिर बिस्तारै गल्दैछ । अनुहारमा चाउरि पर्दैछ । तर अझैपनि मन भने गलेको छैन । आँट र विश्वास ढलेको छैन । थोत्रो टिन, फलाम र खालि सिसिहरू संकलन गर्दै उसले हरेक दिन चोइटिएको सपनाहरू पनि जोडजाड गर्दैछ ।

“चारजनको कमाइले किस्ता तिर्न पुगिराछ हजुर । अब चाँडै बैङ्कको ऋण तिरेर घर उकास्छु ।”  निदारबाट तुरुरु चुहिरहेको पसिना पुछ्दै छोटुलाल सुनाउँछ ।
“पहिलेको शिक्षक मान्छे कबाडि गरिराछु । नसिबमा यस्तै लेखेपछि नगरि सुख छैन हजुर । तर काम भनेको ठुलो सानो केहि पनि हुँदैन । बात कसले कति मिहेनत गर्छ भन्ने हो ।” छोटुलाललाई जिन्दगिले धेरै पाठ सिकाएको छ ।

नसामा फँसेको सन्तोष फेरि फर्किएर आउनु नै उसको लागि खुसिको कुरा हो । छोराहरूको लागि जति मिहेनत गर्न परेपनि गर्न तयार हुने उसको आत्मविश्वासले एउटा सच्चा बाबुको त्याग र संघर्ष निँयाल्न सघाउँछ । चाँडो ऋण तिर्नकै लागि उसले दुबैजना छोराहरुलाई विदेश पठाउने तयारि गरिरहेको छ । पहिले ऋण चुक्ता गर्न पाए बातमा इन्जिनियर बनाउने कुरा त छँदै छ । बरु कान्छा सुवोधले भने दाजुजस्तै गलत बाटोमा नलागोस् भन्ने उसको कामना छ ।

 

लेखक सन्जित फलानाको पेरुङ्गे चेप र नागबेली सपना कविता सङ्ग्रह प्रकाशित छ । उनी यस मिडियाका सम्पादक हुन् ।

सम्बन्धित ट्यागहरू