फेरिए उम्मेद्वार, फेरिएन सडक :
फेरिए उम्मेद्वार, फेरिएन सडक
प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदैछ । चुनावी प्रचारप्रसारको लागी सबै उम्मेद्वारहरू देश दौडाहामा निस्किरहँदा इलाम क्षेत्र नम्बर २ का उम्मेद्वारहरू पनि घरदैलो कार्यक्रममा व्यस्त भइरहेका छन् । गाउँगाउँ, बस्तीबस्ती पुगेर जनताहरूसङ्ग भेट्दै आफ्ना योजना र चुनावी एजेन्डाहरू प्रस्तुत गर्न उनिहरूले कुनै कसर बाँकी राखेका छैनन् । कैँयौपटक सत्ताको स्वाद चाखिसकेका पुराना दल होस् या वैकल्पिक शक्तिको रुपमा उदाएका नयाँ पार्टी, सबैले आफ्नो क्षेत्रको मुहार फेर्ने भन्दै जनताहरूसङ्ग प्रतिवद्दता गरिरहेका छन् । तर के उनिहरूले आफ्नो क्षेत्रको विकास र समृद्धिको लागी साँच्चै गम्भीर भएर मनन गरेका छन् ?

इलाम क्षेत्र नम्बर २ मा सबैभन्दा ठूलो समस्या बनेर टड्कारो उभिएको विषय हो सडक । पुर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपि ओलीको निर्वाचन क्षेत्र झापा दमकबाट पुर्व संविधानसभा अध्यक्ष स्व सुवासचन्द्र नेम्बाङको निर्वाचन क्षेत्र माङसेबुङ हुँदै पाँचथरको चिसापानी जोड्ने ३३ किलोमिटरको फाल्गुनन्द राजमार्ग यस क्षेत्रको प्रमुख सडक सन्जाल हो । बिगत २५ बर्षदेखी निर्माण कार्य सुचारु भएपनि अझैसम्म यहाँको सडकले पुर्णता पाउन सकेको छैन । चुरे क्षेत्रको छाती चिरेर बनेको यो सडक हिउँदमा चलायमान भएपनि बर्खामा बाढी पहिरोको कारण अवरुद्ध भइरहन्छ । यतिबेला धुलोले छोपिएर बाटै नदेखिने भइरहेको यो सडकमा फुस्रो भएर गाडीहरू हराइरहेझैँ जनताहरूको भोट पाएका नेता र निर्माणको जिम्मा पाएको ठेकेदारहरू दायित्वबाट हराइरहेका छन् ।
यो सडक निर्माणको लागि हालसम्म सरकारले अर्बौको बजेट विनियोजन गरिसकेको छ । तर अझैपनि काम सम्पन्न भइसकेको छैन । ट्र्याक चौँडा अनि सडक कालोपत्रे गर्नेगरी ठेक्का लगाएको सात बर्ष बितिसक्यो । सडक डिभिजन दमकले जम्मा तीन खण्डमा ठेक्का लगाएको थियो । पहिलो खण्डको निर्माणको जिम्मा २०७५ साउन २९ मा महालक्ष्मी किरातेश्वर जेभीले लिएको थियो । २२ करोड ५९ लाख ६४ हजारमा सम्झौता भएको ठेक्काको तिस महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्ने म्याद थियो । तर म्याद चारपटक थपिसक्दा पनि सडक कालोपत्रे हुन सकेको छैन । दोश्रो खण्ड १५ किमी र तेस्रो खण्ड ११ किमी को निर्माणको ठेक्का जणपती जेभीले २०७६ फागुन २ गते लिएको थियो । दोश्रो खण्डको लागि ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो खण्डको लागि ५९ करोड १५ लाख ३५ हजारमा सम्झौता भएपनी दुबै खण्डको म्याद फागुन २ गते सकिएको थियो । तर म्याद थप गर्दा दोश्रो खण्डमा ६२ प्रतिशत र तेश्रो खण्डमा २८ प्रतिशतमात्रै काम सकिएको छ ।

यी दुबै सडक खण्डको विषयमा अदालतमा मुद्दा परेपछि थप काम अघि बढ्न सकेको छैन । डिभिजन प्रमुख श्यामकुमार यादवको अनुसार सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी लुम्बिनी जेभीले काम नगरेपछि २०८० फागृुनमा कार्यलयले ठेक्का सम्झौता रद्द गरेको थियो । कार्यलयले ठेक्का सम्झौता रद्द गरेपछि सरकारले बैँक ग्यारेन्टी जफत गर्यो । सो निर्णयको विरुद्दमा विपक्षी लुम्बिनी गणपती जेभीले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको थियो । तर उच्च अदालतले रिट खारेज गरिदिएको थियो । तर, त्यसअघि नै लुम्बिनी गणपति जेभीले जिल्ला अदातल झापामा समेत अर्को मुद्दा गरेको र अन्तिम किनारा नलागेकोले कुनै काम अघि बढ्न नसकेको डिभिजन प्रमुख यादवको भनाइ छ । जिल्ला अदालत झापामा समेत साविकको ठेक्का सम्झौता यथावत कायम गरिपाउँ भनि मुद्दा हालेको छ । त्यो न्यायिक प्रकृयामा छ, न्यायिक प्रकृया नटुङ्गिएसम्म केहि गर्न नसकिने उनी बताउँछन्।
पाँचथरलाई झापासंग जोड्ने वैकल्पिक सडकको रुपमा रहेको यो राजमार्ग नबन्दा स्थानिय बासिन्दाहरूले निक्कै सास्ति खेप्न परिरहेको छ ।